दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले नेकपा एमालेनै कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको बताएका छन् । शनिवार म्याग्दे गाउँपालिकाका मतदाताहरुसँग भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै उनले साना कम्युनिष्ट घटकहरु विस्तारै मुल प्रवाहमै समाहित हुने उल्लेख गरे ।
केहि समय पार्टीबाहिर रहेका अधिकांश साथीहरु मुल पार्टीमा फर्किसकेको बताउदै उनले बाँकी रहेका साथीहरु पनि आउने विश्वास व्यक्त गरे । ‘एमाले मुलुक र नेपालीको भरोसाको पार्टी हो,’ उनले भने, ‘आगामी चुनावले पनि कम्युनिष्ट आन्दोलनलाई सहि मार्ग दिन जनताले पहिलो पार्टी बनाउनेछन् ।’
उनले एमाले २० ग्यारेन्टिका साथ जनताकोबीचमा पुगिरहेको प्रष्ट पारे । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका गुरुङले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’अभियान, आवासविहीनलाई सरक्षित आवास र मर्यादित जीवन, निरोगी नेपाल, सबल नागरिकको नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चितता लगायतका ग्यारेन्टी गरेको जानकारी दिए ।
नेता गुरुङले व्यवहारमा लागू गर्न सकिने मात्र एमालेले घोषणापत्रमा समेटेको दाबी गरे । प्रदेशमा अर्थमन्त्री हुदा गरेका कामलेनै जनतालाई उत्साहित बनाएको उनको भनाई थियो ।
तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले जनताको आधारभूत विषय पुरा गर्ने उदेश्यका साथ पार्टी लागि परेको बताए । उनले एमालकोे निति र योजनानै चुनाव जित्ने मुल आधार रहेको प्रष्ट पारे । निर्वाचित भएपछि सधै जनताकोबीचमा रहेका यस क्षेत्रको समुचित विकासमा समर्पित रहने उनको भनाई थियो ।