दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन । तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा शनिबार आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे ।
संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने बताए।
पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै पौडेलले भने, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मस्र्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।”