निर्वाचनलाई निष्पक्ष बनाउन एमालेको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    निर्वाचनलाई निष्पक्ष बनाउन एमालेको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७९, मंगलवार

    दमाैली । नेकपा (एमाले) तनहुँले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासनको ध्यानाकर्षण गराएको छ । एमालेले मङ्गलबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्दै निष्पक्ष बनाउन ध्यानाकर्षण गराएको हो ।

    आम निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुने कुरामा आफू विश्वस्त रहेको ज्ञापनपत्र बुझाउँदै एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। निर्वाचन कार्यक्रम सञ्चालन गरिरहँदा, निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारीको भूमिका, मतदाता शिक्षामा सरकारद्वारा खटाइएका स्वयंसेवकको भूमिका र सुरक्षा निकाय तथा अन्य राज्यका जनशक्तिको भूमिका तटस्थ हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    “निर्वाचन र निर्वाचनका बेलामा राज्यशक्तिको दुरुपयोग, साधनस्रोतको अनुचित प्रयोग र विगतका निर्वाचनमा देखिएका क्रियाकलाप हुन्,” ज्ञापनपत्रमा भनिएको छ, “यस्ता क्रियाकलाप हुन नदिन सचेत गराउन चाहन्छौ ।” निर्वाचनका बेला घटना घट्न सक्ने विगतको अनुभवबाट पाठ सिक्दै त्यस्ता घटना घट्न नदिन निर्वाचन कार्यालय, सुरक्षा निकाय सचेत रहनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

    निर्वाचन सम्पन्न गर्न संवैधानिक र कानूनी हिसाबले सहयोग गर्न एमाले तयार रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन आफूहरु प्रतिबद्ध रहेको बताए।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य रामचन्द्र उपाध्याय, जिल्ला उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल सहभागी थिए ।