किरण गुरुङको प्रतिबद्धता– तनहुँको समृद्धिबाहेक अरु चाहना छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    किरण गुरुङको प्रतिबद्धता– तनहुँको समृद्धिबाहेक अरु चाहना छैन

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७९, बुधबार

    दमाैली । नेकपा (एमाले) तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै तनहुँको समृद्धिबाहेक अरु चाहना नभएको बताएका छन् ।

    ४२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्दै गुरुङले आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म इमान्दारितापूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली हामी प्रत्येक नेपालीको इच्छा, आकाङ्क्षार चाहना हो, हामीले देख्ने एउटै साझा सपना पनि हो,’ उनले भने, ‘त्यसलाई पूर्ण गर्ने हाम्रो साझा दृष्टिकोण, लक्ष्य उद्देश्य र संकल्पमा म दृढ रहनेछु ।’

    गुरुङले इमान्दारिता आफ्नो राजनीतिक जीवनको ठूलो सम्पत्ति भएको बताए । ‘देश र जनता, राष्ट्र र राष्ट्रियता तथा लोकतन्त्र र परिवर्तनको पक्षमा मेरो सक्रियता, त्याग र बलिदान मेरो जीवनको अभिन्न अङ्ग हुन् भन्ने लाग्छ, जुन तथ्य यहाँहरुसमक्ष लुकेको छैन,’ घोषणापत्रमा गुरुङले लेखेका छन्, ‘उच्च मनोवलका साथ, देश र जनताको आकाङ्क्षा अनुरुप मुलुकको अग्रगामी परिवर्तन अर्थात् समृद्धिको बाटोमा अविश्राम गतिमा लागिरहने प्रण गर्दछु । विकास, फेरि विकास र र निरन्तर विकास तथा परिवर्तन, फेरि परिवर्तन र अग्रगामी परिवर्तन मेरो गति हो ।’

    गुरुङले राजनीतिक स्थायित्व र स्थिरता, राष्ट्रिय स्वाभिमान र अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तन, देश र जनताको सार्वभौमिकता, संविधानको रक्षा र कार्यान्वयन, नीति र कानुन निर्माण, विधि र सुशासनको लागि कुनै सम्झौता नगर्ने बताए।

    गुरुङले एमाले सरकारले थालनी गरेका सवै सडक विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने, पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति कार्यलाई समयमै सम्पन्न गर्न पहल गर्ने योजना अघि सा सार्नुभएको छ । रणनीतिक महत्वका सवै सडकहरुलाई विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने उनकाे योजना छ ।

    टेन्डर भएका तथा निर्माणाधीन सवै पुलहरुलाई समयमानै सम्पन्न गर्न पहल गर्ने गुरुङको योजना छ ।

    तनहुँ हाइड्रोलाई समयमा नै सम्पन्न गर्न पहल गर्ने, शुक्लागण्डकी– ९ घारी र व्यास– ५ चिन्तुटारमा प्रदेश र राष्ट्रिय स्तरको औद्योगिक क्षेत्र स्थापनना गर्न पहल गर्ने, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुलाई संरक्षण र प्रवर्धन गर्ने, उन्नत प्रविधि र प्राविधिक सहयोगबाट कृषि उत्पादन र उत्पादकत्ववृद्धि गर्न कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्न जोड दिने, शुक्लागण्डकी ५ बेलचौतारामा गण्डकी विश्वविद्यालय स्थापना र चिकित्सक शिक्षण अस्पताल स्थापना गर्न पहल गर्ने, निर्वाचन क्षेत्रका सवै घरधुरीमा एक घर एक धारा अभियान सञ्चालन गर्ने गुरुङको घोषणापत्रमा लेखिएको छ ।

    गुरुङले आफूले ठूल्ठूला योजना भन्दा पनि पूरा हुने खालका र जनजीवनसँग प्रत्यक्ष जोडिएका कामहरु गर्ने बताए ।