बारा । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका नेकपा एकीकृत समाजवादीका नेता किशान श्रेष्ठ र प्रदेश सभामा विजयी भएका लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनारलाई समर्थकहरूले १ सय ५१ किलोको माला लगाइदिएका छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएका उम्मेदवारहरूलाई समर्थकहरूले माला लगाइदिँदै बधाई दिएका हुन् । आइतवार बाराको विश्ररामपुर गाउँपालिकाकाको वार्ड नं. ४ बलिरापुरमा आयोजित एक कार्यक्रममा दुवैजनालाई माला लगाइदिइएको हो ।
श्रेष्ठ बारा ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका थिए । उनले ३० हजार ३४१ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका एकवाल मियाँले २० हजार ३३६ मत पाएका थिए ।
सोनल बारा ४ (२)बाटै प्रदेश सभामा निर्वाचित भएका थिए । उनले १३ हजार ५९६ मत पाएका थिए । उनका निकटम प्रतिष्पर्धी जनता समाजवादी पार्टीका आत्मारामप्रसाद साहले ८ हजार २६९ मत पाएका थिए ।