दमौली । तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानमा सम्पन्न दोस्रो दोभान कप तथा प्रथम राजेन्द्र स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्नी एफसी क्लव पोखराले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा ३९ जिटिसीलाई पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो ।
उक्त खेलमा गन्नी एफसीले ३९ जिटीसीलाई १–० गोल अन्तरले पराजित गरेको छ । गन्नी एफएसीका मनोज गुरुङले अतिरिक्त थप भएको अन्तिम समयमा गोल गर्दै क्लवलाई विजयी गराएका हुन् । निर्धारित ९० मिनेटसम्म निकै प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको खेलको अन्तिममा चार मिनेट थप भएको समयमा गुरुङले गरेको गोलले खेललाई ट्राइबेकरसम्म पुग्न दिएन ।
उपाधिसँगै गन्नी एफसीले रु दुई लाख पाँच हजार पाँच सय ५५ नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता ३९ जिटीसीले नगद रु एक लाख १५ हजार पाँच सय ५५ र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पुरस्कार वितरण गरे ।
बिहीबारै सम्पन्न सेमिफाइनल खेलमा आयोजक दोभानलाई १–० ले पराजित गर्दै ३९ जिटिसी फाइनल प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा अलस्टार क्लव आँबुखैरेनीलाई पराजित गर्दै गन्नी एफसी पोखरा फाइनल पुगेको थियो ।
मङ्सिर २९ गतेदेखि सुरु प्रतियोगितामा तनहुँका अलवा अन्य जिल्लाबाट समेत खेलाडीको सहभागिता रहेको थियो । युवामाझ लोकप्रिय रहेको फुटबललाई थप प्रबद्र्धन गर्न र खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष नलबहादुर दरैले जानकारी दिए।