ब्लाष्ट गर्दा घर चर्किएपछि प्रभावितद्वारा आयोजना कार्यालय घेराउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ब्लाष्ट गर्दा घर चर्किएपछि प्रभावितद्वारा आयोजना कार्यालय घेराउ

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७९, आईतवार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका प्रभावित स्थानीयवासीले आइतबार कार्यालय घेराउ गरेका छन् । आयोजनास्थलमा खुल्ला रुपमा बम ब्लाष्ट गर्दा घरहरु चर्किएको र धुलोले आजित भएको भन्दै स्थानीयवासीले कार्यालय घेराउ गरेका हुन् ।

    आयोजनाको प्याकेज एक अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) कामका लागि खुल्ला रुपमा ब्लाष्ट गर्दा सयौ घरहरु चर्किएपछि स्थानीयवासीले बाध्य भएर आयोजना कार्यालय घेराउ गर्नुपरेको स्थानीय युवा पोटबहादुर मगरले बताए । “विगत केही समयदेखि ओपन ब्लाष्ट गर्दा यहाँका सयौ घरहरु चर्किएर क्षति भएका छन्, बिहान दिउँसो बेलुका जुनसुकै बेला पनि ब्लाष्ट गर्दा जनजीवन आतङ्कित छ,” उनले भने, “यस विषयमा पटक–पटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि आयोजना कार्यालय घेराउ गर्न बाध्य भयौ ।”

    No description available.

    घरहरु चर्किनुका साथै धुलोका कारण स्थानीयवासी आजित छन् । “धुलो त झन् कुरै नगरौं, घर पनि धुलाम्य भएर बसिसाध्य छैन, कति त धुलोकै कारण बिरामी परिसक्नुभएको छ,” उनले भने ।

    स्थानीय रिमबहादुर नेपालीले बम विस्फोटका कारण आफ्नो घर चर्किएको बताए । “जतिखेरै ब्लाष्ट हुँदा कहिलेकाँही त केटाकेटी तर्सिन्छन्, घर चर्किएको छ, धुलोको समस्याले पनि अत्ति भयो,” उनले भने । स्थानीय पूर्णबहादुर रानाले आयोजनाका कारण घरमा क्षति पुगेकाले आयोजनाले यस विषयमा सोच्नुपर्ने बताए ।

    ऋषिङ गाउँपालिका–१ स्थित झापुटार, ग्याजाटार, हुक्से, धारापानी, डाँडाखुदी, लोग्मा, व्यास नगरपालिका–५ स्थित बेतेनी, मालिङ्गाका एक सय भन्दा बढी स्थानीयवासीले आयोजना कार्यालय घेराउ गर्दै आफूहरुको माग सुनुवाई हुनुपर्ने बताएका छन् ।

    स्थानीयवासीले आयोजना कार्यालय घेराउ गरेपछि केही समयका लागि खुल्ला रुपमा ब्लाष्ट नगर्ने सहमति भएको छ । आयोजना प्रमुख राजाभाई शिल्पकार जिल्ला बाहिर रहेकाले उहाँ आएपछि थप कुरा गर्ने सहमति भएको छ । आयोजनाको सुरुङभित्र हुने ब्लाष्टलाई नरोक्ने र खुल्ला रुपमा गर्ने ब्लाष्टलाई केही समयका लागि रोक्ने सहमति भएको स्थानीय युवा पोटबहादुर मगरले बताए ।