दमौली । चनहुँको व्यास नगरपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सबै सेवा दिने उद्देश्यसहित नगरपालिकाले घुम्ती शिविर थालनी गरेको हो ।
व्यास –१ स्थित वडा कार्यलयबाट सोमबारदेखि घुम्ती शिविर सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । शिविर १४ वडामा पुस २० गतेभित्र आयोजना हुने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
“सर्वसाधारणलाई सेवा लिनका लागि सदरमुकासम्म आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत एकीकृत सेवा उपलब्ध गराउन लागेका हौँ”, उनले भने ।
शिविरमार्फत प्रशासन शाखा र पञ्जीकरण एकाइअन्तर्गत सामाजिक सुरक्षाभत्ताको कार्ड वितरण, व्यक्तिगत घटना दर्ता, योजना शाखाअन्तर्गत योजना सम्झौता, किस्ता सिफारिस, कृषि उपशाखाअन्तर्गत बालीमा देखापर्ने रोगको जैविक विषादी वितरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, तरकारीको उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या शाखाअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण सेवा, एचआइभी, टिबी, औलोरोग परीक्षण, कोभिड–१९ खोप सेवा, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा, दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन र पोषणसम्बन्धी सेवा प्रदान गरिनेछ ।
आयुर्वेद एकाइअन्तर्गत विभिन्न २५ किसिमका औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवासम्बन्धी ज्ञान, पशुपक्षी उपशाखाअन्तर्गत पशु स्वास्थ्य सेवाका लागि उपचार, रोग निदान, माइनर सर्जिकल सेवा, पशु स्वास्थ्यका लागि औषधि वितरण, खोप सेवा प्रदान गरिनेछ ।
महिला बालबालिका तथा समाजकल्याण उपशाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण, महिला विकाससम्बन्धी जनचेतना अभिवृद्धि प्रदान गरिने नगरपालिकाले जनाएको छ । यसअघि जिल्लाकै आँबुखैरेनी र म्याग्दे गाउँपालिकाले पनि सबै वडामा पुगेर एकीकृत सेवा प्रदान गरिसकेको छ ।