सर्वोत्कृष्ट फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सर्वोत्कृष्ट फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ । सहारा क्लब पोखराले प्रदान गर्ने पुरस्कार यस वर्ष तामाङलाई दिने घोषणा गरिएको हो । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर हुन् ।

    २२ औं सस्करणको आहा रारा पोखरा फुटबल गोल्डकपमा पुरस्कार प्रदान गर्ने क्लबका महासचिव रामजिप्रसाद अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको छ । अधिकारीका अनुसार पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ वृद्धि गरिएको हो ।

    यस अगाडि ३५ हजार रुपैयाँले पुरस्कृत गरिन्थ्यो । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिस्ट पुरस्कृत भइसकेका छन् ।

    २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पुस १४ देखि २३ गतेसम्म हुँदैछ । प्रतियोगितामा आयोजक सहारा क्लबसंगै १० समूहले प्रतिस्पर्धा गर्नेछन् ।

    नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनियन फुटबल क्लब, धरान फुटबल क्लब र भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सहभागी हुँदैछन् । उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब आमनेसामने हुने खेलतालिका छ । सहारा र धरानको उद्घाटन खेलमा १२ वर्षपछिको भेट हो ।

    दशौं संस्करणको आहा गोल्डकपमा उद्घाटनमा मैदान उत्रिएको धरानलाई सहाराले १–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो । नवौं संस्करणको उद्घाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए । त्यतिबेला सहाराले २–१ गोल अन्तरले धरानलाई पाखा लगाएको थियो ।

    विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसपटक पुरस्कार राशीमा वृद्धि भएको छ । विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । पाँच विधामा उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

    सर्वाधिक गोलकर्ताले पनि २५ हजार रुपैयाँ पाउनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ८ हजार रुपैयाँ, फाइनल खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । २०५८ सालमा सुरु भएको क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणसम्म चलेको छ ।

    क्याराभान गोल्डकपको उपाधि नेपाल पुलिस क्बलले उचालेको थियो । मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । गत बर्ष माघमा भएको २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपिएफले जितेको थियो ।