दमाैली । व्यास नगरपालिकामा कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतबीच टसल बढेको छ । नगरपालिकामा अनियमित खर्च कटौती गर्ने, बेरुजु शुन्य बनाउने, समयमै हाजिर गराउने कामको नेतृत्वमा लागेका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलालाई कर्मचारीले घेराबन्दी सुरु गरेका हुन् ।
केही कर्मचारीले बिहीबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बाहिर टाँसिएको नेमप्लेट झिकेर फालिदिएका थिए । पछि उक्त नेमप्लेट पुन टाँस गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत नागिला जिन्सी सामान नगरपालिकालाई बुझाएर बिहीबार नै काठमाडौ पुगेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नागिलाले नगरपालिका सुधारको अभियान थालेपछि कर्मचारी आत्तिएको स्रोतले जनाएको छ । कर्मचारीहरुले नगरप्रमुख वैकुण्ठ न्यौपानेसम्मलाई गुहारेका थिए ।
नगरप्रमुख न्यौपानेले यो सामान्य विषय भएपनि अतिरञ्जना गरिएको बताएका छन् । मानवीय स्वभावका कारण केही त्रुटी हुन सक्ने भएकाले यसलाई समाधान गर्नेतर्फ लाग्ने बताए ।