तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७९, बिहीबार

    दमाैली । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले श्रीपञ्चमीको दिन पारेर बिहीबार उक्त भवनको शिलान्यास गरेका छन् ।

    भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रू एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए ।

    ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालको विद्यालय भवन साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो ।

    नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुग्ने प्रधानाध्यापक रामदत्त पौडेलको भनाइ छ । जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । आयोजनाले नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो ।