दमौलीमा दशौं खेलकुद महोत्सव सुरु (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दमौलीमा दशौं खेलकुद महोत्सव सुरु (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७९, शुक्रबार

    दमाैली । निजी विद्यालयको छाता संस्था एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि दशौं खेलकुद महोत्सव सुरु भएको छ । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानमा खेलकुद महोत्सव सुरु भएको हो ।

    महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले खेलकुदले विद्यार्थीको शारीरिकका अलवा मानसिक विकासमा सहयोग पुग्ने बताए। आजका बालबालिका भोलिका कर्णधार रहेको बताउँदै भण्डारीले खेलकुदले मानिसलाई अनुशासित बनाउने उल्लेख गरे ।

    खेलले देशको पहिचान विश्वमाझ चिनाउन सहयोग पु¥याएपनि खेल क्षेत्रमा राज्यको अझै लगानी कम रहेको भण्डारीको भनाई थियो । शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको भूमिकालाई नकार्न नमिल्ने भण्डारीले बताए।

    खेलकुद महोत्सवमा एनप्याब्सनसँग आबद्ध २७ विद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म सञ्चालन हुने महोत्सवमा २२ विधामा पाँच सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने एनप्याब्सनका सहसचिव एवं खेलकुद संयोजक विश्वास केसीले जानकारी दिए।

    खेलकुद महोत्सवमा एथलेटिक्सतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट र भलिबल खेलमा प्रतिस्पर्धा हुनेछ ।

    विसं २०७७ र २०७८ मा कोरोना कहरका कारण खेलकुद महोत्सव सञ्चालन हुन सकेको थिएन । यसअघि आठौ र नवौं खेलकुद महोत्सवको उपाधि व्यास नगरपालिका–५ स्थित ग्रिनस्टार बोर्डिङ स्कूलले जितेको थियो ।