महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पुरानो ट्राफिक घर, पोखरा घर बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पुरानो ट्राफिक घर, पोखरा घर बनाइने

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७९, मंगलवार

    पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पुरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको पुरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ ।

    जिर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ । पुरानो ट्राफिक घर भत्काएर त्यहाँ पोखरा घर निर्माण सुरु गर्ने पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए । ‘पोखराको पोखरा घर बनाउन पर्छ भनेर पोखरा महानगरले सुरुवात गरेको योजना अन्तर्गत आर्ट ग्यालरी, पुस्तकालय र एउटा घण्टाघर बनाउने सुरुवात गरेका छौं’, उनले भने ।

    पोखरा घर निर्माणमा ढिलाई नहुने उनको भनाई छ । ‘आकर्षक घर र सुचना केन्द्र आवश्यक छ भनेर योजना बनाएका हौं । यसका लागि बजेट पनि विनियोजन भइसकेको छ’, वडाध्यक्ष मर्सानीले बताए ।

    पोखरा घर बनाउने भनिएको जग्गा पोखरा उपत्यका नगर विकास समितिको हो । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरिएको थियो ।  जग्गा समितिले निशुल्क रुपमा बस टर्मिनलका रुपमा ०३२ सालमा लिएको थियो । लामो समयसम्म ट्राफिक कार्यालयको गोलघर बस्यो । करिब २ वर्ष अगाडिमात्र गोलघर केही माथि नयाँ भवनमा सरेको छ । अब पृथ्वीचोकको करिब २ रोपनी जग्गामा पोखरा घर बन्नेछ ।

    पोखरा घर बनाउनलाई महानगरपालिकाले चालु आर्थिक बर्षको बजेटमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबारदेखि भत्काउन सुरु भएको ट्राफिक घर १५ दिनमा सक्ने महानगरले जनाएको छ । पोखरा घर निर्माणका लागि डिपिआर निर्माणको काम भइरहेको छ ।

    पोखरा घरमा स्थानतरण गर्ने योजनाका साथ महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले भदौ २३ मा डोजर चलाएको थियो । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । धनराज आचार्यले भत्काउने कामको थालनी गरे ।

    महेन्द्रपुलमा आकर्षक पार्क बनाउने तयारीमा महानगर छ । महेन्द्रपुलको आर्ट ग्यालरी भत्काएपछि पनि पोखरा घर निर्माणमा ढिलाइ हुँदा पोखरेली कलाकर्मीले आफ्नो कला देखाउन स्थानको अभाव खेप्नुपरेको छ ।