गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल हुने

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७९, शुक्रबार

    पोखरा । गण्डकी प्रदेश स्थापना दिवस २०७९ मा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

    प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । उक्त प्रतियोगिता यहि फागुन १ देखि ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

    प्रदेश खेलकुद परिषदको शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । “नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं । यो प्रतियोगिताले खेलाडी उत्पादन संगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनौट गर्न सहयोग पुग्ने छ”–उनले भने ।

    प्रतियोगिताको तयारीका लागि बैठकले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यिय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा प्रदेश खेलकुदका सदस्य विष्णु मायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन् ।

    प्रतियोगिताका बारे जानकारी दिंदै संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागिता गराउने जानकारी दिंदै प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।

    यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरुले जनही नगद रु २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।