दमौली । तनहुँको भानु नगरपालिका–७ स्थित प्रसिद्ध थानीमाई मन्दिरमा माघ महिनाको मङ्गलबार एक सय ६३ फूलको डोली भित्रिएको छ । माघ महिनाको अन्तिम मङ्गलबार मंगलबार ४३ वटा फूलको डोली भित्रिएसँगै माघको चार वटा मङ्गलबार एक सय ६३ फूलको डोली भित्रिएको हो ।
माघ महिनाको पहिलो मङ्गलबार ३४, दोस्रो मङ्गलबार ४७ र तेस्रो मङ्गलबार ३९ फूलको डोली भित्रिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले बताए ।
अन्तिम मङ्गलबार तनहुँका साथै काठमाडौँ, चितवन, लमजुङ, कास्कीलगायतका जिल्लाबाट भक्तजन फूलको डोली लिएर मन्दिर पुगेका थिए । त्यसक्रममा करिब चार हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको थापाले बताए । साथै हिजो सोमबार राति चार सय दुई जनाले रातभर जाग्राम बसेर मन्दिरमा बत्ती बालेका थिए ।
मन्दिरमा कात्तिक, मङ्सिर र माघको प्रत्येक हप्ताको मङ्गलबार फूलको डोली भित्र्याउने प्रलचन छ । विशेषगरी कात्तिक र माघमा बढी भक्तजनको आगमन हुने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।
पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्या बढ्न थालेको छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ
समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।
विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।