चाउथेको फर्निचरमा आगो लाग्दा दुई मजदुर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चाउथेको फर्निचरमा आगो लाग्दा दुई मजदुर घाइते

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७९, बिहीबार

    पोखरा । पोखराको चाउथेस्थित एक फर्निचर उद्योगमा आगो लाग्दा २ मजदुर जलेर घाइते भएका छन्।

    पोखरा महानगरपालिका-१४ चाउथे डिपीमार्गमा रहेको पाल्पा भैरव फर्निचर उद्योगमा गएराति भएको आगलागीमा परेर २ जना मजदुर घाइते भएका हुुन्।

    जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारीका प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खड्काका अनुुसार धादिङको ज्वालामुखी घर भई फर्निचरमा कार्यरत २० वर्षीय राहुुल गुरुङ र पाल्पा रिब्दीकोटका २१ वर्षीया आशिष खड्का घाइते भएका छन्।

    गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको छ। उनको शरीरको ४५ प्रतिशत जलेको अस्पतालले जनाएको छ।

    खड्काको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ।

    युक्तप्रसाद रेग्मीले सञ्चालन गरेको उक्त फर्निचरमा गएराति करिब २ बजे आगलागी भएको थियो। ‘आगोलागीबाट कम्पाउण्डभित्र रहेका चारवटा टिनका टहरा पूर्णरूपमा जलेर क्षति भएका छन्’, खड्काले भने।

    खड्का अनुसार ग १३ प ३६५६ नम्बरको बुलेट मोटरसाइकल पनि जलेर पूर्णरूपमा क्षति भएको छ। यस्तै, ग २ च ९०२६ नम्बरको बोलेर जिप पछाडिको ढालामा क्षति पुगेको छ।

    क्षतिको एकिन विवरण नआएको प्रहरी नायब निरीक्षक खड्काले जानकारी दिए।

    क्षतिको एकिन विवरण आउनलाई केही समय लाग्ने उनले बताए । ‘काठपातदेखि लिएर टहरा पूर्णरूपमा जलेका छन्’, उनले भने।

    फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

    यस्तै, गएराति नै पोखरा-१० खत्रीपसल चोकमा सञ्चालित अलि हुसेन वर्कसपमा पनि आगलागी भएको छ। वर्कसपभित्र रहेका मोटरसाइकलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।