पोखरा । गण्डकी प्रदेश सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । सोमबारको प्रदेश सभा बैठकबाट कार्य व्यवस्था परामर्श समिति गठन भएको हो । सभामुख निर्वाचित भएको ३८ दिनपछि कार्यवयवस्था परामर्श समिति गठन भएको छ ।
नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली र सुधिरकुमार पौडेल, नेकपा माओवादी केन्द्रबाट सुशीला सिंम्खडा र फणिन्द्र देवकोटा, राप्रपाबाट विन्दु अधिकारी पहाडी कार्य व्यवस्था सदस्य बनेका छन् । यस्तै, प्रतिपक्ष दल नेपाली कांग्रेसबाट विन्दुकुमार थापा र नन्दप्रसाद न्यौपाने सदस्य बनेका छन् ।
सभामुख कृष्णप्रसाद धितालले सोमबारको प्रदेश सभा बैठकमा समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । बैठकले समर्थन जनाएको हो ।
प्रदेश सभा नियमावली, २०७४ को नियम १३ मा सभामुख समितिको अध्यक्ष, उपसभामुख उपाध्यक्ष र प्रदेश सरकारको कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । पदेनसहित १० सदस्यीय कार्य व्यवस्था परामर्श समिति बनेको छ । नियमावलीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्यहरू समावेश हुने गरी बढीमा ११ जनासम्म सदस्य रहेको परामर्श समिति गठनको व्यवस्था गरेको छ ।