राष्ट्रपति पाएमा लिने एकीकृत समाजवादीको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पाएमा लिने एकीकृत समाजवादीको निर्णय

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, बुधबार

    काठमाडाै । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति पाएमा लिने निर्णय गरेको छ। एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति पाएमा लिने निर्णय गरेको एक नेताले बताए। “राष्ट्रपति पद पाएमा लिने सर्वसम्मत निर्णय भएको छ,” उनले भने।

    सचिवालय बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा जानकारी गराएका थिए। अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनका विषयमा विभिन्न राजनीतिक दलका नेतासँग भएको छलफलका विषयमा पनि बैठकमा ‘ब्रिफिङ’ गरेका थिए।

    राष्ट्रपतिको चुनावका विषयमा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। त्यस विषयमा पनि बैठकमा विस्तृत जानकारी दिएका थिए।

    राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने पनि एकीकृत समाजवादीले निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, “राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय भएको छ।”

    यसका लागि सबै दलसँग छलफल र परामर्श गरिने प्रवक्ता खतिवडाले बताए। एमालेसँगको सहकार्यका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता खतिवडाले भने, “सबै दलसँग छलफल र परामर्श गर्छौं, एमालेसँग पनि छलफल गर्छौं।”

    एमालेसँग पार्टी एकताको विषयमा भने उनले अहिले कुनै छलफल नभएको बताए। “पार्टी एकीकरणका विषयमा बाहिर आइरहेका समाचारमा सत्यता छैन, राष्ट्रपतिको चुनावका विषयमा छलफल भएको छ र अझै छलफल गर्छौं, पार्टी एकताको कुरा निराधार हो,” प्रवक्ता खतिवडाले भने।

    अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा सोधिएको प्रश्नमा प्रवक्ता खतिवडाले भने, “अहिले व्यक्तिका विषयमा निर्णय भएको छैन। एकीकृत समाजवादीलाई राष्ट्रपतिको प्रस्ताव आएपछि निर्णय गर्छौं।”