कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारः पौडेलको सम्भावना घट्यो, सिटौलाको बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारः पौडेलको सम्भावना घट्यो, सिटौलाको बढ्यो

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    काठमाडौ । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने अन्तिम रस्साकस्सी सुरु भएको छ।

    रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा पहिल्यैदेखि चले पनि निर्णायक क्षण नजिकिएसँगै उनको सम्भावना क्षीण हुँदै भएको छ।

    कांग्रेस,  माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्यूँतिने करिब निश्चित भएको अवस्थामा कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारले नै जित्ने बलियो सम्भावना छ।

    कांग्रेसभित्र पौडेलसँगै नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धामा उत्रेका छन्। कांग्रेस र माओवादीबीच बुधबार राति पाँच दलीय गठबन्धन ब्यूँताउने र गठबन्धनका तर्फबाट कांग्रेसले राष्ट्रपतिमा शनिबार उम्मेदवारी दिने समझदारी भएको छ।

    त्यो समझदारी बनेसँगै कांग्रेसभित्रको आन्तरिक राजनीति, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रुचि र बाह्य शक्तिको चासोको कारण सिटौलाको संभावना बढेको स्रोतको दाबी छ।

    कांग्रेस नेताहरूले पौडेललाई भन्दा सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुने सुझाव सभापति देउवालाई दिन थालेका छन्। पौडेललाई उम्मेदवार बनाउँदा संसदमा एक सिट घट्ने भएकाले गैरसांसद सिटौलालाई उम्मेदवार बनाउनुपर्ने आवाज उठेको एक नेताले जानकारी दिए।

    राष्ट्रपति चुनावमा निर्णायक रहेका प्रधानमन्त्री दाहालले पनि पौडेललाई भन्दा सिटौलालाई उम्मेदवार बनाउन रुचि देखाएको बालुवाटार स्रोतको दाबी छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका खेलेका र प्रचण्डसँग व्यक्तिगत रुपमा सुमधुर सम्बन्ध भएका कारण सिटौलाको पक्षमा दाहाल खुलेका हुन्।

    सिटौला १२ बुँदे सम्झौताका एक हर्ताकर्ता हुन्। सोमबार पोखरामा पार्टीको गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले १२ बुँदे सहमतिका हस्ताक्षरकर्ताहरू एक ठाउँमा उभिनुपर्ने बताएका थिए।

    राजनीतिमा देखिएको दूषित हावालाई रोक्न १२ बुँदेको सहकार्यलाई उनले जोड दिएका थिए। दाहालले भनेका थिए, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ। अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’

    दाहालको उक्त भनाइले पनि राष्ट्रपतिमा सिटौलाको दाबीलाई बल पुर्‍याउँछ।

    सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा भारतीय पक्षले समेत साथ दिने विश्लेषण कांग्रेस र माओवादीभित्र गरिएको छ। राष्ट्रपति चुनावको सन्दर्भमा भएका भारतीय कुटनीतिज्ञहरूको उच्चस्तरको भ्रमणका क्रममा पनि सिटौलालाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुने सुझाव आएको चर्चा राजनीतिक वृत्तमा छ। (देश सञ्चारबाट)