सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश, अन्तरिम आदेश भएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश, अन्तरिम आदेश भएन

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।

    न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ ।

    माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।
    सर्वोच्चले आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।

    ‘यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन,’ आदेशमा भनिएको छ ।

    इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा भएको हिंसाका घटनामध्ये ५ हजार व्यक्तिको हत्याको जिम्मेवारी आफूले लिने सार्वजनिकरुपमा नै बताएकाले उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरिएको थियो ।