संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन शनिबार आयोजित समारोहमा उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले भने, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।”

    आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उनले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।

    समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी थिए।