काठमाडौ । हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताए। उनका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।
मनसुनपूर्वको अत्यधिक दृश्य सूचकका रूपमा मेघ गर्जने, हावा चल्ने र चट्याङ पर्दा त्यसप्रति सजग भइएन भने मानिसको ज्यान जाने सम्भावना हुन्छ। बर्खे खेतबालीको तयारीको समय भएकाले प्रायः किसान परिवार खेतबारीमा रहने भएकाले सचेत हुनु आवश्यक छ।
ज्यानभन्दा ठूलो खेती हैन भन्ने सम्झेर बादल लागेर हावा चल्न सुरु भएपछि घरभित्र पस्नु नै जोखिम न्यूनीकरणको पहिलो उपाय भएको उहाँ औँल्याउनुहुन्छ। यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएको थियो।
आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अझै केही दिन बादलजन्य गतिविधिले मौसम अवरोधपूर्ण नै रहेको मौसमविद् झाले जानकारी दिए। उनका अनुसार बिहान आकाश खुला भए पनि अपराह्नदेखि हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहितको वर्षा हुने क्रम निरन्तर रहनेछ।