दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १८ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले चैत ३० गतेसम्मका लागि उक्त खण्डमा दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
उक्त अवधिमा राति १२ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन आवतजावत बन्द गरी काम हुँदै आएको छ । यसअघि उक्त खण्डमा फागुन १२ गतेदेखि २८ गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । त्यस्तै फागुन २८ गतेदेखि चैत १२ गतेसम्म उक्त समय अवधि लम्ब्याइएको थियो ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा थप १८ दिन सवारी साधन बन्द गरी काम गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले चैत ३० गतेसम्म चार घण्टा बाटो बन्द गरी भित्ता काट्ने कामलाई निरन्तरता दिइने जनाइएको छ ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।