‘देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ, निगाहको होइन डेलिभरीको राजनीतिमा जाँदैछु’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘देउवा-आरजु गिरोहको अपमान सहेर बस्न सकिनँ, निगाहको होइन डेलिभरीको राजनीतिमा जाँदैछु’

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७९, बिहीबार

    काठमाडौ । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् ।

    वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

    वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।

    ‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं,’ उनको भनाई छ ।

    ‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ वाग्लेले भनेका छन् ।कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने पनि चर्चा छ ।