दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले राजनीतिक सङ्ल्याउने र अर्थतन्त्र उकास्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएको बताएका छन। आँबुखैरेनीमा शनिबार आयाेजित चुनावी सभामा बाेल्दै उनले राजनीति दूषित हुँदा देश विकासमा पछाडि परेको बताउँदै राजनीतिलाई सफा बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
डा. वाग्लेले आफू सुसंस्कृत राजनीतिज्ञ बन्न चाहेको बताउँदै अरुलाई गाली नगर्ने बताए । “अरुलाई गाली गर्ने फुर्सद छैन, कामबाटै विरोधीलाई जवाफ दिन्छु,” उनले भने । वाग्लेले देश विकासको मोडल तनहुँबाट सुरु गरिने बताउँदै अन्य ठाउँले पनि यहाँबाट सिक्ने अवसर पाउने जिकिर गर्नुभयो । “खानेपानी र बाटो बनाउने मात्र नेता यहाँका जनताले खोजेका होइनन्, समग्र देशकै आर्थिक उन्नति उकास्ने नीति बनाउने नेता जनताले चाहेका छन्,” वाग्लेले भने।
तनहुँको विकासका लागि हरहमेसा प्रयत्नशील रहने बताउँदै वाग्लेले तनहुँमा बाटोघाटो, शिक्षा, स्वास्थ्य, पोषण, सिचाइँ, कृषि, पर्यटन, उद्योग, व्यापार र रोजगार प्रमुख माग रहेको बताए। “देश विकासमा सार्थक हस्तक्षेप आवश्यक छ, अर्थतन्त्र र राजनीतिमा झारफुक होइन अब चिरफार नै आवश्यक भइसकेको छ,” डा. वाग्लेले भने।