दमाैली । यु–१६ क्रिकेट छनोट खेलमा तनहुँ क्रिकेट सङ्घले विजयी सुरुआत गरेको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि सुरु भएको छनोट खेलमा पर्वतलाई हराउँदै तनहुँले विजयी सुरुआत गरेको हो ।
तनहुँले पर्वतलाई ३९ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको तनहुँले पर्वतलाई २६.३ ओभर खेल्दै एक सय ३८ को लक्ष्य दिएको थियो । तनहुँका खेलाडी इशान श्रेष्ठले ५६ बलमा ४३ र सुप्रिम सुनारले ५८ बलमा ३९ रन बनाएका थिए ।
एक सय ३८ रनको लक्ष्य पछ्याएको पर्वत २४.४ ओभरमा ९९ रन बनाएर अलआउट भएको थियो ।
उक्त खेलमा तनहुँका इशान श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएकाे तनहुँ क्रिकेट सङ्घका व्यवस्थापक प्रविण पौडेलले जानकारी दिए।
प्रतियोगितामा तनहुँ, पर्वत, नवलपुर, कास्की, बागलुङ र स्याङ्जा जिल्लाको सहभागिता रहेको छ । तनहुँले वैशाख १ गते स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत चैत ३० गते पर्वत र स्याङ्जा, वैशाख २ गते नवलपुर र बागलुङ, वैशाख ३ गते कास्की र नवलपुर तथा वैशाख ४ गते कास्की र बागलुङबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।