को हुन् रास्वपाले सांसद बनाउन लागेकी विन्दवासिनी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    को हुन् रास्वपाले सांसद बनाउन लागेकी विन्दवासिनी ?

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७९, बुधबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ। पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्ध्यबासिनी कंशाकारलाई निर्वाचित गर्ने निर्णय पनि गरेको छ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको डिल गरेको अडियो टेप सार्वजनिक भएपछि श्रेष्ठको सांसद पद गएको हो। श्रेष्ठलाई औपचारिक रुपमा पदमुक्त गर्न रास्वपाले संसद् सचिवालयमा पत्र पठाउनुपर्छ। संसद् सचिवालयमा गएको पत्र सभामुखले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ।

    सभामुखले उनको पद रिक्त रहेको जानकारी गराएपछि निर्वाचन आयोगले नयाँ सांसद चयनको आवश्यक प्रक्रिया थाल्नेछ। श्रेष्ठ समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन्। उनी आदिवासी-जनजाति समूहबाट सांसद बनेका थिए। 
    श्रेष्ठको पद रिक्त भएपछि कसलाई सांसद बनाउने भनेर छलफल हुँदा कंशाकार छानिएकी हुन्। आदिवासी-जनजाति क्लस्टरको महिलातर्फ कंशाकार प्राथमिकतामा रहेकाले उनको संसद् यात्रा निश्चित भएको हो।

    विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता हुन्। उनी आफैं पनि एसिड पीडित हुन्।

    हेटौंडाकी कंशाकारमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो। हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले उनलाई बोलाएर एसिड छ्यापेका थिए। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले कंशाकारमाथि सो कुकर्म गरेका थिए। अभियुक्त ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र अहिले जेल सजाय काटिरहेका छन्।

    एसिड प्रहारबाट कंशाकारको अनुहारमा निकै क्षति पुगेको छ। अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन्।