एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, शुक्रबार

    काठमाडौ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो ।

    यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो ।

    ओमानका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो । ओमानको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् ।

    यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन÷तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो ।

    यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो । नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले सर्वाधिक एक सय आठ रनको योगदान गरे । उनले १० छक्का र ९ चौकाको मद्दतमा एक सय आठ रनको योगदान गरेका हुन् ।

    खेलको सुरुआती समयमा उत्कृष्ट हुन नसकेको खेलमा नेपालका मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको थियो । नेपाली टोलीको स्कोर शून्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८औँ बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए ।

    कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए । पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन ।

    करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे ।

    प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ । त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

    नेपाली स्पीनर सन्दीप लामिछानेले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनले कम खेलमा एक सय विकेट लिने विश्वका पहिलो बलर बने । उनले ओमानका खेलाडी अदिल शफिकको विकेट लिएसँगै कम खेलमा एक सय विकेट लिने विश्वको पहिलो बलर बन्न सफल भएका हुन् । उनले ४२ खेल खेलेर एक सय विकेट पूरा गरेका हुन् ।

    लामिछाने एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट खेलमा एक सय विकेट लिने नेपालको पहिलो बलरसमेत बने । अघिल्लो महिना घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिमलाई आउट गराएपछि उनको विकेटको संख्या ९९ पुगेको थियो । लामिछानेले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय खेलबाट डेब्यु गरेका थिए ।