दमाैली । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यही ठाउँबाट डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय तनहुँको भनाई छ ।
जिल्लाको व्यास नगरपालिका, देवघाट, आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन्। “जहाँ जहाँ वनमा डढेलो लागेको छ, त्यो डढेलो बस्ती भएको ठाउँबाट सुरु भएको देखिन्छ । यसको मतलब मानिसले जथाभाबी रुपमा डढेलो लगाइरहेका छन्,” उनले भने ।
डढेलो नलगाउनका लागि सचेतनामूलक कार्यक्रम, प्रचारप्रसार गरिएपनि नियन्त्रणमा ल्याउन नसकिएको उनले बताए । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गर्दै आएका छौ, तर स्वयं व्यक्ति सचेत नभएसम्म यसलाई पूर्णरुपमा रोकथाम गर्न सकिएको छैन,” उनले भने, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।”
मानिसहरुले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै आगो लगाइदिने गरेका छन् । सोही आगो नजिकको वनमा सल्किदा डढेलोको रुप लिने गरेको छ । “जिल्लामा त्यति ठूलो रुपमा डढेलो लागेको त छैन, तर फ्याट्टफुट्ट रुपमा आगो लाग्ने क्रम जारी छ,” उनले भने ।
वन कार्यालयले आगो लगाउँदै गरेको क्रममा केही व्यक्तिहरुलाई भेटेर सम्झाउने गरेको पनि छ । “दुई दिन पहिला एकजना ८१ वर्षीय वृद्धले घर नजिकै पातपतिङ्गर जलाउँदै गरेको भेट्यौ, उहाँलाई तत्कालै सम्झायौं,” उनले भने ।
वन डढेलो हामी सबैको साझा चुनौति भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा काफ्लेको भनाइ छ । “वन डढेलोले तापक्रम बढाउनुका अतिरिक्त वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्ने, माटो नाङ्गो र कमजोर बनाई भलको बहाव र गति बढाई भूक्षय, बाढी, पहिरो, डुबान जस्ता प्रकोपले धन, जन र सम्पदाहरुमा क्षति पुग्छ,” काफ्लेले भने, “तसर्थ यस्तो कार्य नगरौं, वनमा डढेलो लगाए कानूनी कारवाहीका लागि सहयोग गरौं ।”
वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका आठ वटै सव डिभिजनमार्फत् वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । वनजङ्गलमा डढेलो लगाउनेलाई कानूनी कारवाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेको बताइन्छ । जिल्लाका दश वटा स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, ४ सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् ।