दमौली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ-१ का नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् ।
थापाले वाग्लेलाई बधाई दिँदै सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने उल्लेख गरे ।
थापाले भने, ‘उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन । पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ । राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु ।’
थापाले अहिले नेपाली कांग्रेसको सवै तहमा आवद्ध सम्पूर्ण नेता तथा सदस्य साथीहरूले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी भएको बताए ।
उनले थपे, ‘ पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन संभव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं ।’
थापाले विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको दावी गरे । उनले भने, ‘ निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइ सकेको छैन । प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु । आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खवरदारीले मलाई सदा झै ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ । आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु । यही क्रममा पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं । र, त्यो रुपान्तरण योजना सार्थक वनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु ।’