महावीरको धर्ना सुरु, सडकमै सुते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महावीरको धर्ना सुरु, सडकमै सुते

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८०, शनिबार

    काठमाडौ । रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राति पनि माइतीघर मण्डलमा धर्ना जारी राखेका छन्।

    अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी वैशाख १५ देखि धर्ना शुरु गरेका पुनले राति पनि माइतीघर मण्डलमै बिताएका हुन्। उनले रात र दिन धर्ना जारी राख्ने जनाएका छन्।

    आफ्ना केही सहयोगीसहित माइतीघर मण्डलको सडकमै सुतेका पुनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै माग पुरा नहुँदासम्म धर्ना यथावत राख्ने जनाएका छन्। उनले भनेका छन, हामी चाहिँ माइतीघर मण्डलको सडकमा रात भर सुतेर उठ्यौँ। जनता सुतिरहनुहोस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइरहनुहोस्।

    उनले अनुसन्धान, नवप्रर्वतन र आविष्कारमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने र त्यो रकम ‘अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोष’ मा जम्मा गर्नुपर्ने माग गरेका छन्।

    त्यस्तै, कोषको रकम सहज तरीकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन’ बनाउन पनि सरकारसँग माग गरेका छन्।

    अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीतिनियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीतिनियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने उनको माग छ।