शुक्लागण्डकीमा रु १५ करोड लगानीमा युवाहरुको व्यावसायिक पशुपालन (फोटो/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा रु १५ करोड लगानीमा युवाहरुको व्यावसायिक पशुपालन (फोटो/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८०, मंगलवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा कार्यरत थिए । कतारमा सुपरमार्केटमा काम गरेका उनी विसं २०७४ सालमा नेपाल फर्किए ।

    अर्काको देशमा सधैंँ रोजगारी गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो । सोचलाई यथार्थमा बदल्न उनले स्वदेश फर्किएपछि केही काम गरौं भनेर साथीहरुसँग सल्लाह गरे ।

    शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामे एक वर्ष कतार र आठ वर्ष दुबईमा काम गरे । उनी पनि पाँच वर्ष अगाडी नेपाल फर्किनुभयो । नेपालमै केही गरौं भन्ने भावना उनमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीहरुसँगसल्लाह गर्न थाले ।

    शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य यहीँका स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कुल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ ।

    पौडेल र गोतामे सहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको फार्ममा लगानी छ । अन्य आठ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन् ।

    उक्त एग्रो प्रालिमा हाल एक सय ५० गाईभैसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैसी रहेको एग्रो प्रालिका व्यवस्थापक रहेका विशालले जानकारी दिए ।

    “उत्पादनमूलक व्यवसाय गर्नुप¥यो भनेर साथीहरुसँग सल्लाह भएबमोजिम पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ । हामी १३ जनाको साझेदारी छ, त्यसमध्ये पाँच जना विदेशबाट फर्किएका युवाहरु छौ,” उनले भने, “राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भनेर उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो ।” उनका अनुसार ५० भैसी र ३० गाई दुधालु छन् ।

    फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाए ।

    व्यवसायमा कठिनाई र सङ्घर्ष रहेको भन्दै पौडेलले थपे, “पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौ ।” तर सरकारी निकायबाट कृषि र पशुपालनका लागि त्यतिधेरै वास्ता नगर्दा दुःख लाग्ने गरेको उनकोे गुनासो छ । दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उहाँको माग छ । प्रालिले १७ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने घाँस काट्नका लागि आवश्यकता अनुसार दश जनासम्मलाई रोजगारी दिइएको छ ।

    प्रालिका सञ्चालक रुपबहादुर गोतामले सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग नरहेको बताए । “गाईभैंसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउनुहुन्न, बाहिरबाट मगाउनुपर्छ । यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,” उनले भने, “एउटा गाईभैसी बिरामी भयो फोन गरेर अन्यत्रैबाट प्राविधिक बोलाउनुपर्छ ।” अर्काको देशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै बसेर पशुपालन व्यवसायमा लाग्दा आत्मसन्तुष्टि मिलेको गोतामे बताउँछन् ।

    उक्त फार्ममा कूल लगानी रु १५ करोड पुगेको छ । त्यसमध्ये बैङ्कबाट रु दश करोड ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । प्रालिले एक सय २० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनका लागि मात्रै ५० रोपनी जग्गा प्रयोग भएको छ ।

    फार्मबाट उत्पादित दूध शुक्ला कृषि पर्यटन सहकारीमार्फत् विक्री वितरण हुँदै आएको छ । “दूध विक्रीका लागि समस्या छैन, बजार अनुसारको माग पु¥याउन सकिरहेका छैनौ, हाम्रो लक्ष्य दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने हो । त्यसका लागि गाईभैसीको सङ्ख्या थप्ने लक्ष्य छ,” सिग्देलले भने ।

    ठूलो लगानी रहेपनि पाँच वर्षको बीचमा घाटामै रहेको उनले बताए । “नाफामा पुगिसक्ने अवस्था अझै आइसकेको छैन, घाटामै भएपनि व्यवसाय अगाडी बढिरहेको छ,” उनले बताए ।

    प्रालिले गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्ष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईमार्फत् रु एक करोड ७६ लाखको अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ । त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ ।