दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट घाइते तीन जनाको मृत्यु भएको छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएकामध्ये एक बालक सहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएकामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । अन्य पाँच जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार छ वर्षीया आयुषा भुजेल, दश वर्षीया जस्मिन भुजेल, दश वर्षीय इश्वर भुजेल, आठ वर्षीय समिर भुजेल र पाँच वर्षीय सन्तोष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किँदा घरभित्र र बाहिर रहेकाहरु घाइते भएका थिए ।
घटनालगत्तै स्थानीयवासीले बिहान १० बजेदेखि अवरुद्ध गरेको सडक दिउँसो १ः५० बजेबाट सुचारु भएको छ ।
सवारी दुर्घटनाका दोषीलाई कानून बमोजिम कारवाही गर्ने, दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र उपचारमा पहल गर्ने, दुर्घटनामा परी मृत्यु भएका व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति दिलाउने सहमतिपश्चात् सडक सुचारु भएको प्रहरीले जनाएको छ ।