दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले बुधबार बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् शोक वक्तव्य जारी गरी उक्त घटनाले आफूलाई दुखित तुल्याएको उल्लेख गरेका हुन् ।
दुर्घटनामा परी मृत्यु भएका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वाग्लेले अन्य घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले भने “तनहुँको नवनिर्वाचित सांसदको हैसियतमा जति दुःखी छु, त्यति नै चिन्तित देशको सडकको दुरावस्था र बढ्दो सडक दुर्घटनाहरुबाट छु । नागरिकको जीवनको रक्षा सरकारको पहिलो दायित्व र कर्तव्य हो ।
नेपालमा सडक दुर्घटनाबाट मृत्युदर दक्षिण एसियाली दाँजोमै उच्च हुँदै गएको बताउँदै वाग्लेले सडक सुरक्षाको सन्दर्भमा यसअघि भएका अध्ययन प्रतिवेदनहरुको कार्यान्वयन र सडक सुरक्षा मापदण्डको पालनाको लागि तत्काल पहल गर्न आवश्यक रहेको बताए।
उनले भने, “यस अतिरिक्त सरकारले सडक दुर्घटनामा परी मृत्यु भएका परिवारलाई प्रदान गरिने बीमा रकम प्राप्तिको प्रक्रिया सरलीकृत गर्दै पीडामा परेका परिवारजनलाई थप सास्ती नदिने उपायहरु खोज्न पनि आवश्यक छ ।” सडक दुर्घटनामा घाइते भएकाहरुलाई बेवास्ता गरिँदा सयौं नागरिक अङ्भङ्ग भई उपेक्षित जीवनयापन गर्न बाध्य भएको बताउँदै उनले भने, ”सामाजिक सुरक्षा प्रत्याभूत गर्ने दायित्वबाट राज्य भाग्न नमिल्ने कुरालाई हामी सबैले मनन गर्नुपर्छ ।”
सडक दुर्घटना रोकथाम गर्न सकिने विषय भएको उल्लेख गर्दै वाग्लेले वर्षायाम सुरु हुनै लाग्दा हाम्रा सडकहरुलाई थप सुरक्षित कसरी बनाउने भन्ने विषयमा सरकारका सम्बन्धित निकायहरुले आजैबाट विपद्पूर्वको तयारी थाल्नुपर्ने उल्लेख गरे।
उनले भने “सडक सुरक्षा मापदण्डको पूर्ण पालना, विपद् न्यूनीकरणको लागि पूर्वतयारी र सडक स्तरोन्नति लगायतका विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक छ । नेपाल प्रहरीसहित सरकारी निकायहरु, जनप्रतिनिधि र नागरिक सबैले मिलेर काम गर्ने हो भने हामीले हाम्रा सडकहरुलाई सुरक्षित र विश्वासिलो बनाउन सक्छौं ।”