दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो ।
त्यसका लागि सहकारीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाई पोखरासँग सम्झौता गरेको छ । आयोजनामार्फत् दुलेगौडा बजारमा डेरी उद्योग स्थापना गरी दूधबाट परिकार उत्पादनको अन्तिम चरणमा पुगेको सहकारी संस्थाका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए ।
दूध प्रशोधन गरी घ्यु, पनिर, दही लगायतका परिकार उत्पादनका लागि रु ९९ लाख २९ हजार तीन सयको योजना लागत सहभागितामा सञ्चालन गरिने सिग्देलले बताए । त्यसमध्ये रु ४९ लाख ६४ हजार छ सय ५० अनुदान प्राप्त हुनेछ भने बाँकी रकम सहकारीले साझेदारी गर्नेछ । “दूध प्रशोधन गरी आवश्यक परिकार उत्पादनका लागि उपकरण आइसकेका छन्, छिट्टै नै उत्पादनको चरणमा जान्छौ,” सिग्देलले भने ।
पाँच वर्ष अगाडी स्थापना भएको सहकारीले यस क्षेत्रका कृषकले उत्पादन गरेका दूध विक्री वितरण गर्दै आएको छ । सहकारीमार्फत् दैनिक एक हजार लिटर दूध विक्री हुने गरेको छ । सहकारीले कृषकलाई भैसीको दूधको रु एक सय र गाईको दूधको रु ९० प्रति लिटर उपलब्ध गराउँदै आएको छ ।
“कृषकको दूध विक्री वितरणका लागि सहकारीले नै गाडी पठाएर सङ्कलन गर्दै आएको छ, त्यसका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौ,” उनले भने “दूध विक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” सहकारीले कृषकबाट दैनिक एक हजार दुई सय लिटर दूध सङ्कलन गर्दै आएको छ ।
डेरी उद्योग स्थापनाका लागि रु तीन करोड लगानी भएको छ । सहकारीले डेरी स्थापनाका लागि रु एक करोड ९० लाखमा जग्गा खरिद गरेको छ । “भैंसीको दूध बजारीकरणमा समस्या छैन, गाईको दूधबाट परिकार उत्पादन गरी विक्री गर्ने तयारीमा लागिरहेका छौ,” सिग्देलले भने, “सहकारीबाट दूध मात्रै विक्री हुने गरेकामा अब प्याकेटिङ गरेर दूधजन्य परिकार विक्री वितरण गर्छौ ।”
दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध विक्री वितरण गर्दै आएका छन । दूध विक्री गरेर कृषकले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । उत्पादन र उपभोग गर्ने लक्ष्य सहित सहकारी संस्थाले डेरी उद्योग स्थापना गरिएको बताइएको छ ।
सहकारीमा एक हजार दुई सय सात पुरुष र एक हजार दुई सय ६८ महिला आबद्ध छन् । सहकारीको रु ११ करोड शेयर पुँजी रहेको छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको सहकारीले कृषि र उत्पादनमा जोड दिँदै लगानी गर्दै आएको छ ।
सहकारीमार्फत् स्थापित डेरी उद्योगबाट उत्पादित परिकार बजारीकरणमा सहयोग पुगोस् भन्नका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सहयोग गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूधमा आत्मनिर्भर बनेको उनले बताए ।