दमाैली । तनहुँ जिल्लाका स्थानीय तहमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को अर्धवार्षिक समिक्षा गरिएको छ । व्यास नगरपालिकाको सभाहलमा शुक्रबार कार्यक्रम सञ्चालित स्थानीय तहका प्रमुख, उपप्रमुख, फोकल पर्सन र सेवाग्राहीको सहभागितामा अर्धवार्षिक समिक्षा गरिएको हो ।
सो कार्यक्रममा संयोजक लुना रानाले चालु आर्थिक वर्षको अवधिमा सम्पादित भएका कार्यको बारेमा जानकारी गराइन् । सो क्रममा रानाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा समस्या परेकालाई निःशुल्क कानूनी सहायता बापत क्षतिपूर्ति बापतको रकम प्रदान गरिएको, सीपमूलक तालिम, वित्तीय साक्षरता तथा मनोपरामर्श प्रदान गरिएको बताइन् ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगार विकराल समस्याको रुपमा रहेकाले सुरक्षित रुपमा विदेश जाने वातावरण बनाउन कार्यक्रमले सहयोग पु¥याएको बताए । सामी कार्यक्रममार्फत् विदेशमा समस्यामा परेकाले राहत पाएको भन्दै यो परियोजना प्रभावकारी भएको न्यौपानेको भनाइ छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सामी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजान पालिकाका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।
कार्यक्रम सञ्चालित भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताए ।