कर्नाटकमा मोदीको हार, कांग्रेसको पुनरुदय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    कर्नाटकमा मोदीको हार, कांग्रेसको पुनरुदय

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०८०, आईतवार

    एजेन्सी । भारतको कर्नाटक राज्यमा भएको विधानसभा चुनावमा भारतीय कांग्रेसले ठूलो विजय प्राप्त गरेको छ ।

    २ सय २४ सिटका लागि भएको विधानसभा चुनावमा भारतीय कांग्रेस एक्लैले बहुमत ल्याएको छ । कांग्रेसले १ सय ३७ सिट जितेको छ । जबकी कर्नाटकबाट कांग्रेसलाई बढार्ने लक्ष्य लिएको भारतीय जनता पार्टी भाजपाले जम्मा ६५ सिट जितेको छ ।

    जेडीएसले १९ सिट र अरुले दुई सिट जितेका छन् । सन् २०१८ मा भएको चुनावमा भाजपाले १ सय ४ सिट र कांग्रेसले ८० सिट जितेको थियो ।

    यसपटक कर्नाटकको चुनावलाई भाजपा र त्यसमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले निकै प्रतिष्ठाको विषय बताएका थिए । मोदी चुनावी प्रचारको क्रममा २० पटक कर्नाटक पुगेका थिए तर उनको र्‍यालीले मत बढाउनुको साटो उल्टो घटाएको देखिएको छ ।

    मोदीको ‍र्‍यालीले भाजपालाई क्षति पर्‍याएपनि भारत जोडो यात्राका क्रममा कांग्रेसका नेता राहुल गान्धीले कर्नाटकमा २१ दिन समय विताएको घटनाले भने कांग्रेसलाई राम्रो फाइदा गरेको देखियो ।

    राहुलको भारत जोडो यात्रा कर्नाटकमा २१ दिनसम्म चलेको थियो र ७ जिल्ला भएर गएको थियो । यी जिल्लाहरूमा ४८ विधानसभा सीटहरू छन्। तीमध्ये ३२ सिट कांग्रेसले जितेको छ । २०१८ को विधानसभा चुनावमा कांग्रेसले यी सात जिल्लामा १५ सिट मात्रै जितेको थियो।

    कर्नाटकको जितपछि राहुल गान्धीले भने, ‘हामी गरिबको मुद्दामा लड्यौं । हामीले यो लडाई प्रेमका साथ लड्यौं। कर्नाटकका जनताले हामीलाई यो देशले माया गर्छ भन्ने देखाएको छ। कर्नाटकमा घृणाको बजार बन्द भएको छ। प्रेम पसलहरु खुलेका छन् । यो सबैको जित हो। यो कर्नाटकका जनताको जित हो।’

    कर्नाटक चुनावमा भाजपाको पराजयको जिम्मेवारी लिएर भाजपाका नेता तथा मुख्यमन्त्री बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् । बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको समीक्षा गर्ने बताएका छन् ।

    कर्नाटकको सत्तामा पुनरागमन हुनुको महत्त्व कांग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ । ती राज्यहरुमा पनि बहुमत ल्याउनका कांग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।