दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाबाट बुधबारदेखि श्रम स्वीकृति सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरेका छन् । यसअघि काठमाडौ वा पोखरा गएर श्रम स्वीकृति लिनुपर्दा विचौलियाबाट ठगिने समस्या रहनेमा पालिकाबाटै श्रम स्वीकृति दिन थालिएपछि सजिलो हुने उनले बताए ।
वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौ गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत् उक्त सेवा पाउन थालेका छन् ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले श्रम स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिनेछ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमति पश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिहरुले व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि सम्बन्धित पालिकाको रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।