तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८०, बिहीबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–९ माँझफाँटकी आसमाया विक नौ महिना पहिला वैदेशिक रोजगारका लागि दुवई पुगिन् । नेपालको एक म्यानपावर कम्पनीमार्फत् दुवई गएकी उनले सम्झौता अनुसारको काम र तलब पाइनन्।

    “यहाँ भन्ने बेलामा एउटा काम भन्यो उता गएपछि त्यो काम भएन, तलब पनि एक हजार दुई सय रियाल भनेकामा नौ सय मात्र दियो,” विकले भनिन, “म अब काम गर्दिन् घर फर्किन्छु भनेर भन्दा म्यानपावर व्यवसायीले चासो दिएन ।”

    वैदेशिक रोजगारमा जाँदा आफू ठगिएको महशुस भएको भन्दै विकले दुई महिना अत्यन्तै पीडादायी महशुस भएको बताइन् । विकले भनिनन्, “यातना पनि पाएँ, धेरै रोएँ, कहिले घर जाउँ जस्तो भयो । घर परिवारलाई यसबारेमा जानकारी गराएँ, नेपाल फर्किन्छु जस्तो लाग्न छाड्यो ।”

    घरपरिवारले जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा यस विषयमा जानकारी गराएपछि उनीहरुमार्फत् स्वदेश फर्काउन पहल भयो । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सञ्चालन भइरहेको छ ।

    “सुरक्षित आप्रवासन कार्यक्रममार्फत् म्यानपावर कम्पनीमा आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढेपछि म नेपाल फर्किएँ, रु ४० हजार पनि फिर्ता भयो,” विकले भनिन्, “घर फर्किनलाई सामी कार्यक्रमको महत्वपूर्ण भूमिका छ ।” आवश्यक जानकारी र सीप बिना विदेश जाँदा दुःख पाइने भन्दै सामी कार्यक्रमको परामर्शमा मात्रै वैदेशिक रोजगारमा जान उनले सुझाव दिइन् ।

    तनहुँको व्यास नगरपालिका–८ निवासी अमृता मिश्रका श्रीमान् रोजगारीका लागि विदेश पुगे । विदेशमा उनका श्रीमान् तीन पटक बेहोस भएर ढले। पछि उनलाई प्यारालाइसिस भयो । श्रीमान् घर कसरी फर्काउने भन्ने चिन्ता उनमा थियो । जब उनले सामी कार्यक्रमको बारेमा जानकारी पाइन्, त्यसपश्चात् जिल्ला प्रशासन कार्यालयमा रहेको स्रोत केन्द्रमा सम्पर्क राखिन्।

    “घरको आर्थिक अवस्था कमजोर, उहाँलाई फर्काउन हाम्रो अवस्थाले सकिदैनथ्यो, सामी कार्यक्रमको सहयोगमा उहाँलाई नेपाल ल्याएर उपचार गरायौ,” उनले भनिन्, “उपचारकै क्रममा उहाँको गत असोज अन्तिम साता निधन भयो ।” सामी कार्यक्रमकै पहलमा आवश्यक राहतका लागि प्रक्रिया चालेपछि बीमा बापत रु १३ लाख र वैदेशिक रोजगार बोर्डमार्फत् रु सात लाख प्राप्त भएको उनले सुनाए ।

    उनले भनिन् “श्रीमान् त रहनुभएन तर राहत बापतको उक्त रकमले उहाँको उपचार खर्चमा लागेको रकम तिरेँ, हाल छोराछोरीलाई पनि सोही रकमबाट पढाइरहेको छु ।” सामी कार्यक्रमकै कारण आफूले राहत पाएको उहाँको भनाइ छ ।

    व्यास नगरपालिका–५ का तिलक आल मगरले वैदेशिक रोजगारमा जान बुझाएको रु ५० हजार फसेपछि आप्रवासी स्रोतकेन्द्रमा निवेदन दर्ता गराएर उक्त रकम फिर्ता पाए। “पाँच छ महिना बित्दा भिसा पनि आएन, पैसा पनि फिर्ता गरिएन, पछि सुरक्षित आप्रवासी केन्द्रबाट पैसा फिर्ता पाउन सफल भएँ,” उनले भने ।

    सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङ बताउँछन्।

    यी त केही उदाहरण हुन् । तनहुँ जिल्लामा सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० लागु भएपछि वैदेशिक रोजगारका क्रममा ठगिएका, मृत्यु भएकाहरुलाई राहत बापतको रकम उपलब्ध गराउन सफल भएको कार्यक्रमका जिल्ला संयोजक लुना रानाले जानकारी दिइन् ।

    वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले चालु आर्थिक वर्षमा क्षतिपूर्ति बापतको रकम पाएका छन् । उक्त कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्ति बापत प्राप्त गरेको रानाले बताइन्।

    उनका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिइन् ।

    उनले भनिन्, “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सफल भएका छौ ।”

    वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा परियोजना सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको छ ।

    परियोजनामार्फत् विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकाहरुलाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ ।