दमाैली । गण्डकी प्रदेश सरकार र नेपाली सेनाकाे पश्चिम पृतनाकाे आयाेजना तथा व्यास नगरपालिका-५ कालीभञ्जन गण (इ) काे संयाेजनमा साेमबार व्यास-१० मा विपद् नमूना अभ्यास गरिएकाे छ ।
नेपाली सेनाका उद्धारकर्मीहरुलाई विपद पूर्वको तयारीको क्रममा रिफ्रेशर तालिम गराई क्रमिकरुपमा विपद प्रतिकार्य क्षमता अभिबृद्धि गर्ने उद्धेश्यसहित विपद् नमूना अभ्यास गरिएकाे हाे । साे क्रममा भूकम्प, बाढीपहिरा, आगलागीका घटनाबाट उद्धार गरिएको नमूना अभ्यास प्रदर्शन गरिएको थियो ।
यस प्रकारका तालिम र अभ्यासहरुबाट नेपाली सेनाका उद्धारकर्मीको क्षमता अभिवृद्धि हुने, सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय थप प्रभावकारी बन्ने र स्थानीय जनतामा समेत विपद सम्बन्धी चेतनाको स्तर बृद्धि भई परेको बखतमा समन्वयात्मक ढंगबाट विपद प्रतिकार्य प्रभावकारी ढंगबाट सम्पन्न गर्न सक्ने गरी जनशक्ति तयार हुने अपेक्षा गरिएको कालीभञ्जन गण (इ) गणपति प्रमुख सेनानी रामज्याेति बाेहाेराले जानकारी दिए ।
नमूना अभ्यास प्रदर्शनको क्रममा अवलोकनकर्ता तथा अतिथीहरुबाट विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरुको स्टल अवलोकन गरेका थिए ।
पश्चिम पृतनाका पृतनापति उपरथी दिपक कुमार बानियाले नेपाली सेनाले प्रदेश सरकारसंगको समन्वयमा उद्धारकर्मीको क्षमता अभिबृद्धि गर्न तथा स्थानीय समुदायको विपद व्यवस्थापन क्षमता अभिबृद्धि र विपद उद्धारको सहकार्यमा जोड दिईएको बताए ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा वहन गरेको जिम्मेवारी, विगतको मुख्य मुख्य विपद उद्धारमा सक्रिय सहभागिता र समग्रमा विपद प्रतिकार्यको लागि नेपाली सेनाले निभाईरहेको नेतृत्वदायी भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।