ढुङ्गामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ढुङ्गामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८०, बिहीबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो ।

    पृथ्वीराजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको हो । गत माघ महिनादेखि यहाँका ढुङ्गामा विभिन्न आकृति खोप्ने काम चलिरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    उनले भने, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको छ ।” हालसम्म गणेश र आमाले बच्चा लिएको आकृति खोप्ने काम सकिएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ ।

    गाउँपालिकाले स्थानीय कालीगढलाई यस कामका लागि प्रयोग गरेको छ । ऐनापहरामा उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

    “ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौ,” उनले भने, “सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।” गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल ।

    खोंचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ ।

    राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐना पहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।

    गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गतवर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।

    ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ । विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।