दमौली । कृषि ज्ञान केन्द्र तनहुँले म्याग्दे गाउँपालिका-४ का कृषकलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । मौरीपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न केन्द्रले ९० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गरेको हो ।
म्याग्दे-४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहलाई ४६ मौरी घार वितरण गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘मौरीपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो ।’
मौरी सहितको घार प्राप्ति गर्नका लागि केन्द्रले निवेदन माग गरेको थियो । १०६ जनाले निवेदन दिएकामा ४६ कृषक छनोट गरी घार वितरण गरिएको हो ।
समूहमा आबद्ध कृषकहरु मौरीपालनतर्फ आकर्षित भएको अध्यक्ष जितमाया रानाले बताइन् । उनका अनुसार समूहमा आबद्ध सबैले मौरीपालन गरेका छन् । कम लगानी र मिहीनेतमा मौरीपालन गर्न सकिने भएकाले कृषक यसतर्फ लागेको उनी बताउँछिन् ।
बिहीबार आयोजित कार्यक्रममा मौरी सहितको घार वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मौरीपालनलाई व्यावसायिक बनाउन सके आत्मनिर्भर बन्न सक्ने बताए ।
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई प्रोत्साहन गर्न पालिकाले पनि अनुदानको व्यवस्था मिलाउँदै आएको बताए ।
उक्त कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी राना, जिल्ला समन्वय समितिका सदस्य डोलबहादुर सुनार, तिलादेली राना, वडाध्यक्ष दिपक श्रेष्ठ, समन्वय समितिका निवर्तमान सदस्य गलबहादुर गुरुङले जानकारी दिए ।