काठमाडौ । नेपाल वायुसेवा निगमको जहाज मंगलबार मलेसियाबाट भैरहवा अवतरण गरेको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज मंगलबार पहिलोपटक मलेसियाबाट भैरहवा अवतरण गरेको हो।
१ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो। विमानमा ९७ जना यात्रु मलेसियाबाट आएकामा ३१ जना भैरहवामा उत्रिएका थिए। बाँकी काठमाडौंमा झरे।
निगमले पहिलोपटक मलेसिया–भैरहवा उडान सुरू गरेपछि पर्यटनमन्त्री सुदन किराती आफैँ यात्रुहरूको स्वागतका लागी भैरहवा आएका थिए।
मलेसियाबाट आएका यात्रुहरूलाई भैरहवा अवतरण गराएर उक्त जहाज काठमाडौं जाने छ। भैरहवा आएका मलेसियाका पर्यटन व्यवसायीहरू भने लुम्बिनी भ्रमण गरी काठमाडौं हुँदै मलेसिया फर्किने बताइएको छ।
निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो।
अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।