


दमौली । संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघले दोस्रो चरणको आन्दोलन बैंक विरुद्ध गर्ने भएको छ । शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै संघले दोस्रो चरणको हाम्रो बैंकिङ्ग सामन्तवादका विरुद्ध हुने जानकारी दिएको हो।
स-प्रमाण ठाउँका ठाउँ मुकाबिला गर्दै समाधान निकाल्न आन्दोलन केन्द्रित हुने संघका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए । त्यसका लागि असार ३ र ४ गते भित्र आवश्यक पर्ने व्यवसायीहरुले पुनर्कर्जा, पुनर्तालिकिकरण, पुनसंरचना र आंशिक धितो फुकुवाका लागि आ-आफ्नो बैंकमा लिखित निवेदन दिने, असार ५ देखि ९ गते सम्म निवेदन माग स्वीकृत वा अस्वीकृत गरेको लिखित जवाफ पठाउने गृहकार्यको लागि बैंकलाई समय दिने र असार १० देखि १५ गते सम्ममा सच्चिन नचाहने बैंक र नियामक निकायलाई सच्चाउन संघर्षमा उत्रिने कार्यक्रम रहेको उनले बताए ।
उनले भने, ‘शान्तिपूर्ण शुद्ध व्यावसायिक आन्दोलनका मागलाई वेवास्ता गर्दा निम्तिन सक्ने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित बैंक तथा वित्तीय संस्था र तिनलाई छाडा छोड्ने नियमनकारी राज्य संयन्त्रले नै लिनुपर्नेछ ।’
नेपाली उद्योगी, व्यवसायी र कृषकहरुले कोभिड – १९का सबै लहरहरु पार गरी हालसम्म आइपुग्दा आर्थिक मन्दी र बैंकिङ्ग सामन्तबादको गम्भीर सिकार हुनुपरेको तितो यथार्थ घाम जत्तिकै छर्लङ्ग भएको संघले जनाएको छ । ‘परिणाम स्वरूप देशभर दैनन्दिन घटेका आत्मदाह र आत्महत्याका श्रृङ्खला प्रति पनि संचार जगत अनभिज्ञ छैन,’ संघले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमा उल्लेख छ ।