व्यास नगरपालिकाकाे बजेट घटेर आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाकाे बजेट घटेर आउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको व्यास नगरपालिकाले वडाबाट आएका प्राथमिकताका क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने भएको छ । नगरपालिका आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले भूगोल, जनसङ्ख्यालाई आधार मानी सामाजिक आधारभूत आवश्यकता पूर्ति गर्ने गरी योजना बनाइने बताए। उनका अनुसार वडाबाट आएका योजना छनोटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा परेका छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार असार १० गते भित्र गरिने नगरसभाको लागि नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी पेश गर्ने तयारी गरेको छ ।

    यस पटक व्यास नगरपालिकाको बजेटको आकार अङ्क गणितीय हिसाबमा अघिल्लो वर्षको तुलनामा सानो हुने हुने न्यौपानेले बताए । न्यौपानेका अनुसार सङ्घीय एवं प्रदेश सरकारले दिँदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट आकार सानो बनाउन लागिएको हो ।

    आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमका लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरि नगरसभामा पेश गर्ने तयारी गरेको छ ।

    न्यौपानेले भने, “सङ्घ र प्रदेश सरकारले दिँदै आएको अनुदानमा धेरै कटौती भएको छ । त्यसको प्रत्यक्ष असर व्यास नगरपालिकामा पनि पर्नेछ ।” न्यौपानेका अनुसार यस पटकको कार्यक्रम तर्जुमा गर्दा चालु खर्चमा कटौति गरी धेरै भन्दा धेरै बजेट पुँजीगत खर्चमा विनियोजन गर्ने तयारी छ ।

    बजेट निर्माणका लागि नगरपालिकाले १४ वटै वडामा बजेटको मापदण्ड निर्माण गरि पठाएको थियो । अघिल्लो वर्ष हरेक वडालाई रुक एक करोड २५ लाख बजेट तोकिएकामा यो पटक भने रु एक करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ । वडामा चालु खर्च करिब २० प्रतिशत र पुँजीगत खर्च ८० प्रतिशत हुने गरी मापदण्ड बनाइएको छ । जसले गर्दा जनताले प्रत्यक्ष नगरपालिकाको बजेट तथा कार्यक्रमको महसुस गर्ने दावी गरिएको छ ।

    नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा रु २२ करोड ६० लाख राजश्व सङ्कलन गरेको थियो भने यस चालु वर्षमा करिब रु १७ करोड राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पास गरेको थियो ।