नेपाल आदिवासी जनजाति महासंघ तनहुँको संयोजनमा आदिवासी जनजाति अभियन्ता एवं पर्यटन तथा संस्कृतविद् सहितको ३१ जनाको टोलीले यही २०८० जेष्ठ दोश्रो हप्ता सिक्किम, दार्जिलिङ र नेपालको सुन्दर एवं मनमोहक पर्यटकीय स्थल ईलाम (फिक्कल, कन्यम र श्रीअन्तु) को अवलोकन भ्रमण सम्पन्न गरेको थियो । भ्रमणको मुख्य उद्देश्य नेपालको केन्द्रविन्दू व्यास नपा वडा नं. १२ घाँसीकुवा क्षेत्र स्थित मुलुककै पहिलो आदिवासी जनजाति जीवन्त सांस्कृतिक संग्रहालय स्थापना गर्ने महासंघको सपनालाई मूर्तरुप दिनु थियो । स्मरण रहोस् महासंघ विगत दुई दशकदेखि निरन्तर यस अभियान जुटिरहेको छ । भ्रमणका केही संस्मरण ढिलै भएपनि पस्काउने कोशिष गर्दैछु ।
भारतको उत्तरपूर्वी भागमा अवस्थित सिक्किम क्षेत्रफलको हिसावले भारतको दोश्रो सानो राज्य (७०९६ वर्ग कि.मि.) हो । सिक्किमलाई ६ प्रशासनिक जिल्लाको रुपमा विभाजन गरेता पनि भौगोलिक आधारमा छुट्याईएका ४ जिल्ला पूर्व, पश्चिम, उत्तर, दक्षिण जनजिब्रोमा वढि प्रचलित पाईन्छ । उत्तर र उत्तरपूर्व तर्फ तिव्वतरचीन, पूर्वमा भूटान, पश्चिममा नेपाल र दक्षिण तर्फ भारतकै पश्चिम वंगालसंग सीमा जोडिएको सिक्किम समुन्द्र सतहबाट २८० मि. देखि ८५८६ मि.(कञ्चनजंग हिमाल) सम्म फैलिएको छ । कूल ६१०,५७७ जनसंख्या वसोवास गर्ने सिक्किमको सरकारी कामकाजी भाषा नेपाली, सिक्किमी, लेप्चा र अंग्रेजी रहेता पनि यी भाषाका अलावा गुरुङ, लिम्बु, मगर, मुखिया, नेवारी, राई, शेर्पा र तामाङ भाषालाई थप कामकाजी भाषाको रुपमा कानूनले मान्यता प्रदान गरेको छ । ०.७६४ मानव विकास सूचकाङ्क रहेको सिक्किमेलीको मुख्य आम्दानीको श्रोत कृषि र पर्यटन हो जसले पर क्यापिटा इन्कम ५,२०० अमेरिकी डलर पु¥याउन सफल वनाएको छ ।
पर्यावरणीय हिसावले हरित सिक्किम (ग्रीन सिक्किम) लाई मूल मन्त्र वनाई राज्यभर सरकारी कार्यक्रमहरुमा पानीका प्लाष्टिक बोतल प्रयोग गर्न र पोलिष्टारेन उत्पादनका लागि सख्त मना गरिएको छ । सिक्किम राज्य सरकार र आम जनताले सन् २००३ देखि २०१६ सम्म गरेको अथक प्रयासका वावजुत सिक्किम भारतको पहिलो कृषिमा पूर्ण जैविक (अर्गानिक) राज्यको रुपमा स्थापित भएको छ ।
सिक्किम घुम्न कहिले जाने ?
जाडोमा हिउँ खेल्न मनपर्नेहरुका लागि अक्टोवरदेखि मार्च महिनासम्म उपयुक्त रहन्छ । तर हिउँ खेल्न जानेहरुले मौसमको फोरकाष्टलाई मध्य नजर राखी भ्रमण गर्दा सुरक्षित रहन सकिन्छ । यस वर्ष हाम्रो भ्रमणको केही हप्ता अघि मात्र हिउँ पहिरोमा परि चार जना नेपालीले सिक्किममा ज्यान गुमाउन परेको थियो ।
सिक्किममा के खाने ?
हामी नेपाली प्राय दालभात खानेहरुका लागि कुनै समस्या छैन । घरै आलु वनै आलु भनेझै कत्ति दालभात, सिक्किम गएपछि टिवेटीयन स्वादको ममः, थुक्पा, चाउमीन, विभिन्न परिकारका सूपहरु लिंदा यात्राको क्रममा शरीरलाई पानीको अभावबाट जोगाउन सकिन्छ ।
सिक्किम गएर के सिक्ने ?
आफ्ना सन्तति, दरसन्ततिहरुका लागि सिक्किमले स्वयं आफैलाई जीवन्त राख्न चाल्न पर्ने थुप्रै कदमहरु नएका होईनन् र पनि सिक्किमबाट हामीले धेरै कुरा सिक्न सक्दछौं जस्तैः प्रत्येक गाउँगाउँ, टोलटोलका लागि छुट्टाछुट्टै सडक वनाउनका सट्टा एउटै मूल सडकद्धारा समग्र क्षेत्रको सन्तुलित विकास कसरी गर्न सकिन्छ भन्ने व्यवहारिक योजना, राष्ट्रियता (जातजाति, भाषाभाषी, धर्म, संस्कृति आदि) को प्रणालीगत विकास, जहाँतहीं सस्ता र गुणस्तरीय मदिरा उपलव्ध छन् तर कतिखेर पिउने? कहाँ पिउने ? पिएपछि आफ्नो स्वभाव कसरी सम्हाल्ने तरिका, संघीयताको प्रभावकारी नीति तथा कार्यक्रमहरु, फोहरमैलाको सही विसर्जन, पहाडी भूधरातलमा रेलमार्गको विस्तार, कृषि र पर्यटनको एकीकृत विकास कार्यक्रम, पर्यटन विकास तथा संस्कृति संरक्षणमा सरकार र नीजि क्षेत्रको सहकार्य, श्रमजिवीहरुको कामका साथसाथै सेवा सुविधाहरु, बजारीकरणका उच्चतम् तरिकाहरु, महत्वपूर्ण संदेश तथा सूचनाहरुको सम्प्रेषण एवं प्रदर्शनी गर्ने तरिका, आम जनतालाई धार्मिक एवं सांस्कृतिक मूल्यमान्यताका आधारमा नैतिकवान वनाउने विधि, प्रविधिको सही उपयोग, आतिथ्यता एवं मीठो बोलीवचन, पैसा लिएपछि ईमान्दारिताका साथ सेवा प्रदान गर्नुपर्छ भन्ने सोंच, मृत आत्माहरुको सम्मान गर्ने प्रचलन, वन संरक्षण, धर्ताीलाई मायाँ, जीविकोपार्जनका अनेकौ उपायहरु, जातीय सद्भाव आदि आदि ।
अन्तमा, हाम्रो ग्रेटर नेपालको पूर्वी सीमाना टिस्टा नदीको किनार किनार मोटरमा दौडदा लाग्छ हामी आफ्नै गाउँघरको ठाडोखोला, वेतेनी, मास्दीघाट, मौरीओडार आदि वरपरनै बरालिरहेको छौं । तर भिन्नता सानै भएपनि कालो चिल्लो सडक, टम्म मिलेको टिकको जंगल र सडकैभरि कमिलाको ताँती जस्तै आन्तरिक पर्यटकका गाडीका लहर, आतिथ्यताका लागि तम्तयार हिष्टपुष्ट, हँसिला होटल व्यवसायीहरु, अर्गानिक खानाका परिकार आदि जो कसैका लागि सिक्किममा पहिलो आकर्षण वन्दछ । सवैलाई हतार छ ग्यान्तोक पुग्न तर संयम्ता र धैर्यता कत्ति राम्रो हरेक चालकहरुमा, मुश्कान छ सवैको अनुहारमा सायद समृद्धिकै कारण होला त्यो । पर्यटन विकासको मुख्य प्रवद्र्धक भन्नुनै पर्यटकहरु हुन्, पर्यटकले जस्तो अनुभव वटुल्यो त्यहि कुरा एककान दुईकान मैदान वन्ने हो, त्यसैले त सिक्किम भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक महिना दू्रत गतिमा वढ्दैछ ।
सिक्किम, दार्जीलिङ घुम्दै ईलामको फिक्कल, कन्यम, श्रीअन्तू डाँडा वरपर आईपुग्दा हाम्रो धर्ती असाध्यै फराकिलो अनुभव हुन्छ । प्रकृतिले यो भन्दा वढि वरदान के नै दिनु पर्छ र मात्र सुसंस्कृति भरिदिए पुग्छ त्यसमा । सफा, कञ्चन, हरियाली वातावरण, स्थानीय उत्पादनले भरिभराउ, जिम्मेवार पर्यटन विकास तर्फ उन्मुख गाउँबासीहरुको जागरुकता देखेरै होला सायद तीनै तहको सरकारले पत्याए जस्तो भान हुन्छ पर्यटनमा त्यतातिर । स्थानीय कृषकहरु हस्याङ र फस्याङ गर्दै कोही स्कूसको मुण्टा, कोही अकवरे खुर्सानी कोही चियापत्ती र छुर्पीका विटा वोकेर आउँछन्, कोही सडक वरपर पहिल्यैदेखि राष्ट्रिय पोशाक र खाद्य एवं श्रृङ्गारका सामाग्री सहितका पसलमा तैनाथ छन् भने कोही घोड सवारका लागि अनेकौं पोज देखाउँदैमा व्यस्त । सफल उद्यमी वन्न र प्रभावकारी वजारीकरणका सीप एवं तरिका सिक्नका लागि फिक्कलदेखि कन्यमसम्मको गतिविधिलाई करिव दुई घण्टा नियालेर हेर्नुस्, सुन्नुस् अनि वुझ्नुस् बन्द कोठाभित्र प्रखर प्रशिक्षकले प्रदान गरेको एक हप्ते वजारीकरणका तालिम तपाईलाई वेकार लाग्न सक्दछ । खैर सवैको जय होस् ।
लेखक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका पूर्व अध्यक्ष हुन्