


दमौली । तनहुँ जिल्लामा ६७ जातजाति पहिचान भएका छन् । विसं २०७८ सालको जनगणना अनुसार तनहुँ जिल्लामा ६७ जातजाति पहिचान भएको तथ्याङ्क कार्यालय कास्कीले जनाएको छ ।
तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले जिल्लामा विसं २०६८ भन्दा दश वर्षको अवधिमा सात जातजाति थपिएको बताए । विसं २०६८ सालको जनगणनामा जिल्लामा ६० जातजाति थिए ।
जिल्लामा मगर, क्षेत्री, ब्राम्हण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बराम लगायतका जातजाति गणनाबाट पहिचान भएको बस्यालले जानकारी दिए ।
जिल्लाको कुल जनसङ्ख्या तीन लाख २१ हजार एक सय ५३ छ । त्यसमध्ये महिलाको सङ्ख एक लाख ७१ हजार ५९ र पुरुषको सङ्ख्या एक लाख ५० हजार ९४ छ ।
जिल्लामा सबैभन्दा बढी मगरको सङ्ख्या बढी रहेको छ। तथ्याङ्क अनुसार मगरको जनसङ्ख्या ८३ हजार छ सय ३९, क्षेत्रीको जनसङ्ख्या ३६ हजार आठ सय ३३, ब्राम्हणको जनसङ्ख्या ३६ हजार छ सय ७२, गुरुङको जनसङ्ख्या ३५ हजार एक सय ८४ रहेको छ । सबैभन्दा कम राजपुतको जनसङ्ख्या नौ रहेको छ । त्यस्तै कायस्थको ११, कोचेको १२, लोहरुङको १३, धिमालको १३, भूमिहारको १४, छन्त्यालको १५ रहेको जानकारी दिइएको छ ।
जिल्लामा ४१ मातृभाषा पहिचान भएका छन् । विसं २०६८ सालको जनगणना अनुसार २८ वटा मातृभाषा रहेकामा २०७८ सालको जनगणना अनुसार १३ मातृभाषा थपिएका छन् । त्यसमध्ये सबैभन्दा बढी नेपाली (६२.७ प्रतिशत) रहेको बस्यालको भनाइ छ ।
छ पालिकाको जनसङ्ख्या ऋणात्मक
सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाका दश पालिकामध्ये छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बन्दीपुर गाउँपालिकाको माइनस ०.७४, भानु नगरपालिकाको माइनस ०.६५, भिमाद नगरपालिकाको माइनस ०.६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ ऋणात्मक जनसङ्ख्या छ ।
शुक्लागण्डकी नगरपालिकाको भने १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाका ०.६६ प्रतिशत वृद्धिदर रहेको छ ।
पालिका अनुसार आँबुखैरेनीमा २२ हजार दुई सय ५२, बन्दीपुर गाउँपालिकामा १८ हजार पाँच सय ३२, भानु नगरपालिकामा ४२ हजार सात सय ९४, भिमाद नगरपालिकामा २९ हजार दुई सय ४८, व्यास नगरपालिकामा ७८ हजार नौ सय ३९, देवघाट गाउँपालिकामा १४ हजार पाँच सय ८४, घिरिङ गाउँपालिकामा १४ हजार तीन सय ३४, म्याग्दे गाउँपालिकामा २३ हजार पाँच सय ७८, ऋषिङ गाउँपालिकामा १७ हजार नौ सय १८ र शुक्लागण्डकी नगरपालिकामा ५५ हजार छ सय २० जनसङ्ख्या रहेको जानकारी गराइएको छ ।