दमौली । विद्यार्थी आउने क्रम बढ्दै थियो । विद्यालयको प्रवेशद्वारमा प्रधानध्यापक र शिक्षकहरु उभिए । प्रवेशद्वारबाट छिर्ने विद्यार्थीलाई प्रधानध्यापक र शिक्षकले हात जोडेर नमस्कार टक्राए ।
नमस्कारसँगै भन्दै थिए, ‘गुड मर्निङ बाबु, गुड मर्निङ नानी । कस्तो छ ?’
तनहुँको व्यास नगरपालिका–१० मा रहेको शिव माध्यमिक विद्यालयको दृश्य हो यो । नियमित विद्यालय आउने वातावरण तयार पार्दै सम्मान भावन सिकाउन प्रधानध्यापक र शिक्षकले विद्यार्थीलाई नै नमस्कार टक्रयाउँछन् । विद्यार्थी पनि मुस्कुराउँदै नमस्कार फिर्ता गर्छन् ।
एक अर्कालाई सम्मान गर्न सिकाउन विद्यालयले ‘नमस्कार’ अभियान थालेको हो । २ सातादेखि विद्यालयमा असल संस्कार सिकाउने उदेश्यले ‘नमस्कार’ अभियान सुरु भएको प्रधानध्यापक चन्द्रमणि कोइरालाले बताए । सम्मानको भावना हराएकाले विद्यार्थीलाई सिकाउन थालेको उनको भनाइ छ ।
‘अभियान सुरु गरेपछि अहिले विद्यार्थी आफैँ टाढैबाट गुड मर्निङसँगै दुई हात जोडेर नमस्कार गर्दै विद्यालय प्रवेश गर्छन् । प्रवेशद्वारमा शिक्षक बस्छन भन्ने भएपछि समयमै विद्यालय आउँछन् । विद्यालय पोशाकमा हुन्छन्’, उनले भने ।
विद्यार्थीलाई मात्रै होइन शिक्षकलाई पनि समयमै विद्यालय आउन प्रेरित गरेको उनले बताए । विद्यालयको शैक्षिक गुणस्तरसँगै विद्यार्थीमा अनुशासन सिकाउने योजनामा रहेको कोइरालाले सुनाए ।
अचेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर विद्यालय आउँछन्, प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कारसहितको अभिवादन टक्रयाउँछन् ।
अभियानलाई निरन्तरता दिन अभिभावकको तालिका नै बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले बताए । उनका अनुसार प्रवेशद्वारमा बसेर अभिभावकले नै आफ्ना छोराछोरीको आनीबानी नियाल्छन् ।
शिव माविले किन ‘नमस्कार’ अभियान चलायो त ? विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजाल भन्छन्, ‘नमस्कार हाम्रो संस्कृति हो । विद्यार्थीले घरमा आउने पाहुना आफन्तलाई अभिवादन टक्रयाँउन सीकुन । अभिवादन गर्न धक नमानुन्, शिक्षासँगै संस्कार पनि चाहिन्छ भनेर सुरु गरेका हौं ।’