‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो । जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन् ।

    यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्र्याक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन ।”

    उनका अनुसार लम्पी स्किन सङ्क्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । “लम्पी स्किन सङ्क्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ”, डा श्रेष्ठले भने ।

    लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन सङ्क्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए । उनले भने, “यो खोप सङ्क्रमित भएको पशुलाई नभई सङ्क्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।”

    सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफँै खरिद गरेका थिए ।

    जिल्लाको म्याग्दे गाउँपालिकाले दुई हजार गाईभैँसीलाई उक्त खोप लगाएको छ । गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए ।

    भानु नगरपालिकाका केही ठाउँमा भने कृषकले पशुलाई यो खोप लगाउन आनाकानी गरेका छन् । अन्य पालिकामा भने सहजरुपमा खोप लगाइएको छ ।