दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी राना जनताको समस्या समाधानमा निरन्तर सक्रिय रहँदै आएकी छन् । पदमा नहुँदा समेत रानाले जनताको समस्या समाधानका लागि निरन्तर खबरदारी गर्दै आएकी हुन् ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत जामुनेदेखि पोखरासम्मको खण्डमा काम सुस्त भइरहँदा जनतालाई सास्ती भएको विषयमा समेत रानाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
यसैक्रममा म्याग्दे गाउँपालिका–४ पिपलटारमा सडकछेउ लामो समयसम्म पानी जमेको विषयमा रानाले बुधबार सम्बन्धित पक्षलाई बोलाएर छलफल गरेकी छन् । पानी जम्दा जोखिम बढेको र जनताको गुनासो आएपछि आफूले निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर यसको विषयमा छिटो समाधान गर्न आग्रह गरेको रानाले बताइन् ।
उनले भनिन्, “हिजोका दिनमा पदमा हुँदा पनि जनताकै हितका लागि काम गरेको हूँ, अहिले पदमा नहुँदा पनि जनताको गुनासो आइरहन्छ । पदमा नभएपनि जनताकै लागि काम गर्न सधैं अग्रसर भइरहन्छु ।”
एक महिनादेखि पानीको ताल जमेकाले त्यसको व्यवस्थापन गर्न आग्रह गरेको उनले बताइन् । त्यसक्रममा इन्जिनियरहरुले कल्भर्ट नबनाएसम्म पानी खोल्न खतरा हुने जानकारी गराएका थिए ।